|  

निलकण्ठ नगरपालिकामा यस्ता छन् गठबन्धनको साझा प्रतिवद्धता

२३ बैशाख २०७९, शुक्रबार ११:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङको नीलकण्ठ नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार मेयर पदका भिम ढुङ्गाना र उप मेयर पदका दिपक विश्वकर्माले साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

समृद्ध नीलकण्ठ नगरको आधारः कृषि, पर्यटन, उद्धमशीलता सहितको पूर्वाधार, नीलकण्ठ नगरः देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय शहर भन्ने नाराका साथ ४५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनीहरुको साझा प्रतिवद्धता
आदरणीय आमाबुवा, दादुभाइ दिदीबहिनीहरु
नेपाली जनताको स्वतन्त्रता, स्वाभिमान र समृद्धिका लागि झण्डै ७ दशक लामो संघर्षबाट समग्र जनअधिकार स्थानीय तहमै सुनिश्चित गरी जारी भएको नेपालको संविधान, २०७२ लाई सार्थक कार्यान्वयन गर्ने ५ बर्षे अभ्यास र सकारात्मक उपलब्धिका साथ २०७९ साल बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुँदैछ ।

नेपालको हरेक राजनीतिक परिवर्तनमा निर्णायक र नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतान्त्रिक समाजवाद मार्फत जनहित, विकास र समृद्धिका लागि क्रियाशील पार्टी नेपाली कांग्रेस र जनअधिकारलाई आधारस्थलबाटै स्थापित गर्ने गरी परिवर्तनको मुद्धालाई उठान गर्दै आएको पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा समाजवादी बिचको गठबन्धनको तर्फबाट तपाईँको अमूल्य मत प्राप्त हुने विश्वास सहित निर्वाचनमा होमिएका छौँ ।

खुल्ला समाज, नेपालको स्वाधिनता, स्वतन्त्रता र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने शहिदहरुलाई भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै स्थानीय निर्वाचनको मैदानबाट सम्पूर्ण नीलकण्ठ नगरबासी तपाईँलाई न्यानो अभिवादनका साथ आफ्नो मताधिकारको सही सदुपयोग गर्न हार्दिक अपिल गर्दछौँ ।

नेपालको संविधान, २०७२ ले गरेको शासकीय पुनर्संरचना अनुसार स्थानीय सरकारको रुपमा हामीले एक कार्यकाल सकारात्मक उपलब्धी र उत्कृष्ट अनुभवका साथ पुरा गरेका छौँ । लामो संघर्षबाट प्राप्त राजनैतिक अधिकारलाई संस्थागत गर्दै समुन्नत नेपालको गन्तब्य तर्फ मुलुकलाई अघि बढाउन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासकीय अधिकारको पृथकीकरण र राज्य पुनर्संरचनाको अभ्यासलाई स्थापित गर्ने अभियानको नेतृत्व नीलकण्ठ नगरपालिकामा हामीले असल प्रयासका साथ एक कार्यकाल व्यतित् गरिसकेका छौँ ।

राजनैतिक व्यवस्था परिवर्तन र स्वतन्त्रताको लागि पुस्तौँ सम्म संघर्ष गर्दा देखिएको पछौटेपनको अन्त गर्दै पूर्ण लोकतान्त्रिक पद्धतिका साथ स्थानीय सरकारको माध्यमबाट नगरको विकास गर्न जनप्रीय योजना र कार्यक्रमका साथ पुनः तपाईको घर दैलोमा हामी आएका छौँ । केन्द्रीय सरकारको मुख ताकेर भन्दा आफैले चुनेका प्रतिनिधि मार्फत स्थानीय सरकार बनाउने स्वर्णिम अवसर तपाईँमाझ पुनः आएको छ । हामी, हाम्रा छोराछोरी र भावी सन्ततीको भाग्यको रेखा कोर्ने स्थानीय सरकार, हाम्रो प्रत्यक्ष मतदान मार्फत गठन हुने यो ऐतिहासिक अवसर हो ।

हाम्रो नगरमा कस्तो विकास गर्ने ? कति बजेट विनियोजन गर्ने ? हाम्रो आवश्यकता कसरी पूरा गर्नेदेखि हाम्रो सुविधाको लागि कति खर्च गर्ने सम्मको अधिकार हाम्रै प्रत्यक्ष मतदानबाट निर्वाचित प्रतिनिधिहरुले गर्नेछन्। तसर्थ यो स्थानीय निर्वाचनमा इतिहासको जुनसुकै मोडमा देश र जनतालाई साथ दिएको नेपालको आर्थिक विकासको लागि उदार समाजवादी कार्यक्रमका साथ महत्वपूर्ण योगदान दिएको हाम्रो गठबन्धनका उम्मेद्वारलाई भोट दिइ अत्यधिक मतका साथ विजयी गराउन अपिल गर्दछौँ ।

प्रथम ५ बर्षे कार्यकालका उपलब्धी नगर विकासका लागि पूर्वाधारका हिसावले ब्यापक समस्याहरु विद्यमान रहेता पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट नीलकण्ठ नगरपालिकाको पहिलो निर्वाचित जनप्रतिनिधिका रुपमा हामीले सेवा प्रवाह र पुर्वाधार विकासमा उल्लेख्य उपलब्धी हासिल गरेका छौँ । निर्वाचित भए लगत्तै नगरपालिकाको समग्र विकासका लागि १० बर्षे एकीकृत शहरी विकास योजना निर्माण गरी ठोस कार्ययोजनाका साथ हामी अघि बढेका थियौँ ।

सेवा प्रवाहमा चुस्तता, पूर्वाधार विकासमा उल्लेख्य प्रगति, आवश्यकता र मागको सिद्धान्तमा आधारित बजेट व्यवस्थापन गर्दै स्थानीय सरकारको संस्थागत संरचना विकासमा हामीले यो ५ बर्षमा नतिजामुखी परिणाम हासिल गरेका छौँ । स्थानीय सरकारको नियमित बजेट भन्दा कयौँ गुणा बढी बजेट विभिन्न श्रोत, साझेदारहरु र दातृ निकायबाट प्राप्त गरी हामीले विभिन्न विधामा देशभरमा उत्कृष्ट नगरको रुपमा नीलकण्ठ नगरपालिकालाई स्थापित गरेका छौँ । अझै गर्नुपर्ने धेरै छ, नगरबासीको अपेक्षा र महत्वकांक्षा असिमित छ, तथापि हामीले प्रथम कार्यकालमा गरेको काम, बजेट विनियोजन र कार्यान्वयनको परिणाम मापनयोग्य बनेको छ । स्थानीय मामिलाका विज्ञ, देशका प्रतिष्ठित विज्ञहरु र संघीय मामिला मन्त्रालयको स्वमूल्यांकन मानकमा नीलकण्ठ नगरपालिकाले पटक–पटक प्रथम स्थान सहित उत्कृष्टता हासिल गरी हामी नगरबासीलाई गौरवशाली बनाएको छ ।

सेवा प्रवाहमा चुस्तता, पारदर्शिता सहित जनप्रीय कार्यक्रमहरु हामीले यो ५ बर्षको कार्यकालमा सुरुवात गरेका छौँ । सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, विपन्न परिवारलाई रु. १० हजार अन्तिम संस्कार खर्च, विपद्मा तत्काल राहत उद्धार, कोभिड प्रतिकार्यमा प्रभावकारी ब्यवस्थापन, कृषि, सहकारी र उद्यमीहरुलाई विशेष अनुदान सहितको सहायता कार्यक्रम, पशुबिमामा ९० प्रतिशत अनुदान, ७ वटा नयाँ स्वास्थ संस्था स्थापना गरी निःशुल्क रुपमा यथेष्ट औषधी र ल्याब सेवा, शिक्षा क्षेत्रमा विशेष लगानी, सामाजिक संस्था, सहकारी, सामुदायिक, सांस्कृतिक, जातीय र धार्मिक संस्थाहरुलाई मागमा आधारित सहयोग, घुम्ती सेवा मार्फत टोलटोलमा सेवा सुविधा हामीले पहिलो कार्यकालमा गरेका नागरिक सेवाको नमूना उदाहरण हुन् ।

तिर्खामुक्त नगरको अवधारणामा बृहत खानेपानी आयोजना, ९५ किलोमिटर नगर चक्रपथको ट्रयाक निर्माण कार्य सम्पन्न गर्ने देखि धादिङबेसी बजारको करिडोरको डिपिआर गरी निर्माण सुुरुवात हामीले गरिरहेको बृहत योजनाहरुमा पर्दछन् । प्रथम कार्यकालमा नगरक्षेत्रमा झण्डै ८०० किलोमिटर सडक पूर्वाधार निर्माण भएको छ । ५ बर्षे कार्यकालमा सम्पन्न हुन नसकेका सडक पूर्वाधारहरु, एक घर एक धारा सहित सवै नगरबासीको घर घरमा खानेपानी सेवा, नमुना उद्योगग्राम, धादिङवेसी बृहत खानेपानी आयोजना हाम्रो प्रथम कार्यकालमा सुरु भै निरन्तर हुने गौरवका आयोजना हुन् ।

नीलकण्ठ नगरपालिकामा तपाईँको अमूल्य मतले हाम्रो गठबन्धनलार्ई जिताए आगामी ५ बर्ष भित्रमा पहिलो कार्यकालमा निर्मित एकीकृत शहरी विकास योजना अनुसार गर्नुपर्ने बाँकि काम पूरा गर्दै देशकै नमुना नगरपालिकाको रुपमा स्थापित हुने गरि विकासको जग बलियो पार्ने अठोट गर्दछौँ । बजार क्षेत्रको नमुना ब्यवस्थापन सहित व्यवसायिक प्रबद्र्धन र गाउँ बस्तीहरुमा उत्पादनमुखी कार्यक्रम मार्फत नगरवासीको आयअर्जनको बृद्धि गरि समृद्ध नगर बनाउन सकिने योजना हामीले अघि सारेका छौँ ।

केन्द्रीय अनुदान, नगरपालिकाको आफ्नै श्रोत र विभिन्न दातृ निकायसँगको समन्वयमा प्रर्याप्त श्रोतको परिचालन गरि आगामी ५ बर्षभित्र देशकै नमुना नगरपालिकाको रुपमा नीलकण्ठ नगरपालिकालाई चिनाउन हाम्रो उम्मेद्वारी रहेको छ । तपाईँको अमूल्य मतबाट निर्वाचित भए आगामी ५ बर्षभित्र विकास र परिवर्तनको संवाहक बन्ने गरि निम्न प्रतिबद्धताहरु प्रस्तुत गरेका छौँ:

हाम्रा प्रतिबद्धताहरुः
१. नीलकण्ठ नगरपालिकालाई देशकै नमूना पूर्वाधारयुक्त पर्यटकीय शहरको रुपमा विकास गर्ने ।
२. नगरको समग्र विकास ब्यवस्थापनका लागि एकीकृत नगरविकास योजना अनुरुप योजनाबद्ध विकास गर्ने ।
३. नगरको समग्र विकासमा नीति निर्माण र कार्यान्वयन सहजीकरण गर्न नीलकण्ठ नगर विकास प्राधिकरण गठन गरि व्यवस्थित र योजनाबद्ध विकास अभियान सञ्चालन गरिनेछ ।
४. आगामी ५ बर्ष भित्र नीलकण्ठ नगरपालिकाका वेरोजगार युवाहरुलाई मेयर उद्यमशिलता कार्यक्रम मार्फत अधिकतम रोजगारीको सृजना गर्ने र कम्तीमा ५ हजार युवाहरुलाई स्वरोजगार बनाउने ।
५. आगामी ५ बर्ष भित्र नगरपालिका का सवै वडा र वस्तीलाई बाह्रै महिना चल्ने गरि सडक सञ्जालले जोड्ने ।
६. विशेषज्ञ डाक्टर र अनुसन्धान सेवा सहितको शहरी स्वास्थ क्लिनिक सञ्चालन गर्ने र सवै वडाका स्वास्थ संस्थामा टेलिमेडिसिन सेवा मार्फत स्तरीय स्वास्थ उपचारको ब्यवस्था गर्ने ।
७. धादिङवेसी बजारलाई ब्यवस्थित, सफा र सुरक्षित नमुना बजारको रुपमा विकसित गर्ने ।
८. नीलकण्ठ नगरपालिकाको गौरवका आयोजनाका रुपमा रहेको ९५ किलोमिटर चक्रपथलाई हरितमार्गको रुपमा विकास गरिनेछ । धादिङवेसी करिडोर सडक लाई अगामी ५ बर्षमा स्तरबृद्धिका साथ पूर्णता दिइनेछ ।
९. सवै नगरबासीहरुलाई स्वास्थ् विमा मार्फत बार्षिक २ लाख बराबरको निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराइनेछ ।
१०. धादिङवेसी बजारमा हाल स्वीकृत भैसकेको ४६ करोड बजेटलाई समायोजन गरी बृहत खानेपानी आयोजना सञ्चालन गर्ने । सबै वडामा एक घर एक धारा हुने गरी तिर्खामुक्त नगरको सपना साकार पार्ने । लिफ्टिङबाट सञ्चालित खानेपानी आयोजनामा विद्युत महशुल नगरपालिकाको तर्फबाट भुक्तान गर्ने व्यवस्था गर्ने ।
११. एक वडा एक नमूना श्रोत विद्यालय घोषणा गरी नगरपालिका भित्रका सवै विद्यालयहरुमा इन्टरनेट, सूचना प्रविधि र आवश्यक साधनश्रोत सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
१२. नगरपालिका क्षेत्रमा कम्तिमा एउटा बहुप्राविधिक क्याम्पस सञ्चालन गर्ने । नीलकण्ठ बहुमुखी क्याम्पसलाई विशेष स्तरोन्नती गरी स्नातकोत्तर सम्मका सवै फ्याकल्टीका विषय अध्यापन गराउने क्याम्पसको रुपमा विकास गरी जेहन्दार विद्यार्थीहरुलाई आवासीय सुविधा समेत प्रदान गरिनेछ ।
१३. नगरपालिकालाई बालमैत्री नगर घोषणा गरि आवश्यक स्थानहरुमा वालविकास केन्द्र स्थापना गर्ने, पोषणयुक्त आहार सहित उचित स्याहार संरक्षण, र बृद्धि विकासको ब्यवस्था गरिनेछ ।
१४. दलित तथा विपन्न बर्गका बालबालिकाहरुको आधारभुत तह देखि उच्च शिक्षा सम्म निशुल्क छात्रवृत्ति, पोषण र संरक्षणको विशेष कार्यक्रम सञ्चालन गर्ने ।
१५. जेष्ठ नागरिकको सम्मानका लागि नगर स्तरीय संरक्षण केन्द्र र विश्राम पार्क निर्माण गरि सेवा प्रदान गरिनेछ । ७० बर्ष माथिका सवै जेष्ठ नागरिकको घर दैलोमा उपचार सेवा, निःशुल्क औषधी र भत्ताको ब्यवस्था गरिनेछ ।
१६. कृषि, पशु सेवा, खानेपानी, सिंचाइ, उद्योग व्यापारका लागि एकद्वार एकीकृत सेवा केन्द्र स्थापना गरिनेछ ।
१६. नीलकण्ठ नगरपालिकाका सवै बजार र बस्तीहरुमा स्तरीय इन्टरनेट सेवा, निशुल्क वाइफाइ जोन तथा टेलिसेन्टर स्थापना गर्ने। साथै एकीकृत शहरी सुरक्षा प्रणालीमा सूचना प्रविधिलाई जोड्दै सिसिटीभी तथा अनलाईन मार्फत सिटी सर्भिलेन्स परियोजना सञ्चालन
गर्ने ।
१७. नीलकण्ठ नगरपालिकालाई नमूना पर्यटकीय गन्तव्य नगरको रुपमा विकास गर्न पर्यटन मैत्री पूर्वाधारको प्रवर्धन गर्ने ।
१९. नगरपालिका क्षेत्रको उपयुक्त स्थानमा देशकै नमूना पर्यटकीय पार्क निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने ।
२०. नगर क्षेत्रमा होम स्टे संचालन सुरुभएको पात्ले गाउँ, वि।पी गाउँ र जुरेथुमलाई आवश्यक सहयोग गरि पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने र नगरपालिका क्षेत्रका अन्य सम्भावित गाउँहरुमा होम स्टे सञ्चालन गर्न आवश्यक सहयोग गर्ने । साथै भैरवी मन्दिर, बागेश्वरी मन्दिर, चमेरे गुफा, लामास्थान, चुलिदेवी लगायतका स्थललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार विकास गरिनेछ ।
२१ नीलकण्ठ नगर क्षेत्रमा प्याराग्लाइडिङ, जीप फ्यायर, रक क्लाइम्बिङ जस्ता साहसिक पर्यटकीय खेलको प्रवर्धन गर्ने ।
२२. नगरका हरेक बस्तीहरुमा औद्योगिक कामका लागि समेत माग धान्ने गरि थ्री फेज लाइनको विद्युतीकरण तथा सौर्य उर्जा, वायोग्याँस तथा वैकल्पिक उर्जाको उचित प्रवर्धन गर्ने ।
२३. नीलकण्ठ नगरलाई खेलमैत्री नगरको रुपमा विकास गर्न खेलकुद रंगशाला तथा नमूना खेलकुद पाठशाला स्थापना गर्ने र
हरेक वडाहरुमा खेलकुद विकासका लागि खेलमैदान निर्माण आवश्यक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने । साथै विद्यालयहरुमा खेल पाठ्यक्रम र खेलकुद शिक्षकको ब्यवस्था गरिनेछ ।
२४. दलितहरुको परम्परागत पेशालाई व्यावसायीकरण गर्न आवश्यक आर्थिक सहयोग, अनुदान तथा थप तालिमको ब्यवस्था गर्ने ।
२५. नगरको समग्र सूचना आदान प्रदान तथा शिक्षा र मनोरञ्जनका लागि स्थानीय रेडियो, अनलाईन र पत्रपत्रिकामा नगर विशेष सामग्रीहरुको उत्पादन तथा प्रसारण प्रकाशन प्रवर्धन गर्ने र नगरक्षेत्रबाट प्रकाशित प्रसारित सञ्चार माध्यमलाई विशेष
साझेदारी अनुदानको ब्यवस्था गर्ने । पत्रकारहरुलाई लेखनबृत्ति तथा पुरस्कृत र आवश्यक सहयोग गरिनेछ ।
२६. महिला, दलित, अपांग, विपन्न, आदिवासी जनजाती, एकल महिलाहरुलाई राज्यले ग्यारेन्टी गरेको संवैधानिक अधिकार प्रदान गर्न उनीहरुको आवश्यकता र माग अनुसारको कार्यक्रम सञ्चालन गरिनेछ ।
२७. नगरकेन्द्र तथा वडा स्तरमा बैंकिङ सेवा तथा सहकारी संस्थाहरुको प्रवर्धन, संघ संस्था तथा क्लबहरु स्थापना तथा सहकार्य लाई अभिप्रेरित गरिनेछ ।
२८. नीलकण्ठ नगरक्षेत्रलाई वातावरणमैत्री नगर घोषणा गर्दै पर्यावरण संरक्षण, सामुदायिक तथा कबुलियती वन संरक्षण,वनमा आधारित आय आर्जन कार्यक्रम र हरियाली प्रवर्धन कार्यक्रमलाई सघन रुपमा सञ्चालन गरिनेछ । नगरक्षेत्रका नदी सरसफाई तथा पानीका मुहान संरक्षण कार्यलाई विशेष प्राथमिकता दिइनेछ ।
२९. नगरको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधान हुने गरि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने र फोहरमैला प्रशोधन तथा मल उत्पादन जस्ता व्यवसायिक कार्यक्रम सञ्चालन गरिनेछ । सरसफाई गुरुयोजना निमार्ण गरी सचेतना अभियान सञ्चालन तथा महत्वपूर्ण स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
३०. नगर स्तरमा नगर प्रहरीको परिचालन तथा अन्य सुरक्षा फोर्ससँगको समन्वयमा उचित सुरक्षा प्रवन्ध तथा सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।
३१. वेरोजगार युवाहरुलाई नगरको विभिन्न विकास निर्माणमा स्वयंसेवीको रुपमा परिचालन गरी बेरोजगार भत्ताको समेत ब्यवस्था गरिनेछ ।
३२. धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको संवैधानिक व्यवस्थालाई आत्मसात् गर्दै नीलकण्ठ नगरपालिका भित्रका सबै मठ मन्दिर, गुम्बा र चर्च ९मण्डली० को उचित संरक्षण तथा पून निर्माण गरिनेछ ।
३३. स्थानीय रैथानी बाली प्रवर्धन गर्न बिउ बैँक स्थापना सहित विशेष कार्यक्रम सञ्चालन गरी नगरलाई खाद्यान्न आपूर्तिमा आत्मनिर्भर बनाउदैँ निकाशीयोग्य वातावरण निर्माण गर्ने ।
३४. पठन संस्कृतिको विकास गर्न नगर क्षेत्रमा सार्वजनिक पुस्तकालय, अध्ययन केन्द्र तथा इ–लर्निङ सेन्टर स्थापना गरी अध्ययन अनुसन्धान र प्राज्ञिक गतिविधिलाई प्रोत्साहन गरिनेछ ।
३५. नगरपालिका क्षेत्रभित्रका जग्गाहरुको माटो परीक्षण गरी विभिन्न बालीहरुको पकेट क्षेत्र घोषणाका साथ व्यवसायिक कृषि प्रवर्धनका लागि किसानहरुलाई अनुदान, कृषि उद्यमका लागि लिएको घर जग्गा भाडामा करछुट तथा सहुलियत ऋणको प्रवर्धन गर्ने ।
३६. कृषि को व्यवसायीकरण, बजारीकरणका लागि संकलन केन्द्र, शितभण्डारण केन्द्र निर्माण गरिनेछ । कृषियोग्य जग्गाको गैरकृषिजन्य उपयोग, प्लटिङ र खण्डिकरण पूर्णतया रोकी प्रभावकारी व्यवस्थापन गर्ने ।
३७. उन्नत किसान प्रोत्साहन तथा पुरस्कृत गर्ने योजना सहित किसानहरुका लागि उन्नत खेती र पशुपालनमा आर्थिक अनुदानको व्यवस्था गरि व्यवसायिक कृषिको विकास गरिनेछ ।
३८. सम्पूर्ण सार्वजनिक तथा सरकारी सेवा प्रदायक निकायहरुलाई लैङ्गिक भेदभावमुक्त स्थालका रुपमा घोषणा गर्ने ।
३९. प्रकोप न्यूनिकरण, पूर्व तयारी, राहत, उद्धार पुनस्र्थापना जस्ता प्रत्येक चरणका आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सशक्त बनाउँदै विपद् ब्यवस्थापनमा अन्य स्थानीय तहका लागि समेत नमुना बन्ने गरि विपद् श्रोत केन्द्र स्थापना गरिनेछ ।
४०. रामकोट दरवार, पौवा दरवार, ज्याम्रुङ दरबार, धुवाँकोट, भैरवीकोट, लामास्थान लगायतका पुरातात्विक सम्पदाहरुको खोज र उत्खनन गरी परम्परागत स्वरुपमा निर्माण अभियान सञ्चालन गरिनेछ ।
४१. नगरवासीको माग र चाहना अनुसारका आवश्यक विकास निर्माण तथा सहायताका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४२. स्थानीय सरकार सञ्चालनका लागि करको दायरा बढाउँदै, जनउत्तरदायी, भ्रष्टाचारमुक्त स्थानीय प्रशासन सञ्चालन गर्ने ।
४३. नगर क्षेत्रमा कला संस्कृतिको विकास तथा प्रवर्धनका लागि नीलकण्ठ प्रज्ञा प्रतिष्ठान मार्फत विभिन्न साहित्यिक, सांस्कृतिक जातीय तथा धार्मिक र सम्प्रदायका कला संस्कृतिको खोज, अध्ययन र संरक्षण, संग्राहलय निर्माण लगायतका योजना सञ्चालन गरिनेछ ।
४४. नगरका विभिन्न टोल र वस्तीमा गठित टोल विकास संस्थाहरुलार्ई नगरपालिकाको अभिन्न इकाइको रुपमा स्वीकार गरि सहकार्यमा विभिन्न विकास तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
४५. विचारमा विविधता विकासमा एकता को शुत्रलाई आत्मसाथ गर्दै नगरविकास का लागि विभिन्न राजनीतिक दल तथा नागरिक समाजले अघिसारेका राम्रा योजनाहरुलाई अनुसरण गर्दै नगरविकास कार्यक्रममा समावेश गर्ने ।साभार : धादिङ पोष्टडटकमबाट

२३ बैशाख २०७९, शुक्रबार ११:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस