|  

इलामको चुलाचुलीमा १५ शय्याको अस्पताल निर्माण

१० भाद्र २०८०, आईतवार ०६:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


इलाम।दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । उक्त भवन निर्माण नहुँदै गाउँपालिकाले आफ्नै भवनमा अस्पताल सञ्चालन गरेर बिरामीलाई निशुल्क उपचार र औषधि वितरण गर्दै आएको छ।

गाउँमै विभिन्न रोगको उपचार पाएका स्थानीय गाउँपालिकाको कार्यको प्रशंसा गर्न थालेका छन् । गाउँपालिकाको आफ्नै भवनमा सञ्चालित अस्पतालबाट स्वास्थ्य बीमा सुविधासमेत सुरु भएपछि स्थानीयलाई सहज भएको हो । गाउँमा अस्पताल नहुँदा झापाका विभिन्न स्थानमा उपचारका लागि धाउनुपर्ने स्थानीयले गाउँमै अस्पताल सञ्चालनपछि धेरै राहत मिलेको बताएका छन् ।

चुलाचुलीका ३ का बाबुराम अधिकारीले गाउँमा अस्पताल नहुँदा दमकका विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता भएको बताए । उनले दमक गएर अस्पतालमा पालो कुर्दै दिन जाने गरेकोमा अहिले सहज भएको सुनाए । अस्पतालमा बिशेषज्ञको सेवा सुरु भएपछि स्थानीयको भिड लाग्ने गरेको छ।

दिनहुँ एक सयभन्दा बढी बिरामीलाई अस्पतालले सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा नसर्ने रोगका बिरामी प्रेसर, सुगर, थाइराइड, मुटु जस्ता बिरामीको चाप रहेको चिकित्सकको भनाइ छ । डेंगुको समस्या गाउँमा देखा परेकाले ज्वरो र खोकीको समस्या लिएर धेरै बिरामी आउने गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार गाउँपालिकाबासीलाई आधारभूत स्वास्थ्य उपचार पालिकाभित्रै उपलब्ध गराउने उद्देश्यले अस्पताल सुरु भएको हो । अहिले गाउँपालिकामा रहेको अस्पताल पाँच शय्याको छ । चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ । उक्त भवन सम्पन्न भएपछि सोही स्थानबाट सेवा सुरु गर्ने गाउँपालिकाको लक्ष्य छ । बाह्रगोठेमा निर्माण भएको आधारभूत अस्पताल पाँच करोड २० लाखको लागतमा सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
स्रोत:न्यूज सन्जालबाट

१० भाद्र २०८०, आईतवार ०६:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस