|  

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले नेमकिपासँग मागे विश्वासको मत

४ चैत्र २०८०, आईतवार १२:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आफ्नो पक्षमा बहुमत पुर्‍याउन सक्रिय भएका छन् । यसै क्रममा उनले विपक्षी दल नेपाल मजदुर किसान पार्टी नेमकिपा सँग विश्वासको मत मागेका छन् ।

मुख्यमन्त्री जम्कट्टेल, बागमतीका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग भक्तपुरमा भेटेर सरकार गठनमा सघाउन अनुरोध गरेका हुन् ।

नेता गोसाईंले नेमकिपासँग मुख्यमन्त्रीले विश्वासको मत मागेको बताए । तर आफूले विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको उनले जानकारी दिए । ‘उहाँहरू आउनु भएको थियो । सरकारलाई विश्वासको मत दिनुस् भनेर आग्रह गर्नुभयो । मैले विगतका राजनीतिक घटना सम्झाएर सुझाव दिएको छु’, उनले अनलाइनखबरसँग भने, ‘पहिला भारी बहुमत हुँदा पनि गतिलो ढंगले काम गर्नुभएन, त्यसकारण यो स्थिति आयो । संकट आउँदा चाहिं सबै चाहिने, अरु बेलामा कोही नचाहिने गर्नु प्रजातान्त्रिक होइन, यो शैली राजनीतिक संस्कारभित्र पर्दैन भनेँ ।’

गोसाईंले दुरदर्शी ढंगमा सरकारले काम गर्ने एजेण्डा ल्याए विश्वासको मतबारे सोच्न सकिने बताए । नेमकिपा योजना र बजेटमा केन्द्रित भएर बार्गेनिङमा नलाग्ने पनि उनले बताए । ‘

नयाँ सत्ता समीकरण बनेपछि २३ फागुनमा नेपाली कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि जम्कट्टेल अल्पमतमा छन् । उनले संवैधानिक व्यवस्था अनुरूप ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्छ । बागमतीमा वर्तमान सरकार टिकाइराख्न साना दलको समर्थन निर्णायक बनेको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । तर वर्तमान सत्ता गठबन्धनको नेकपा एमालेसँग २७, माओवादीसँग २१ र नेकपा एकीकृत समाजवादीको ७ गरेर जम्मा ५५ सिट पुग्छ । यो समीकरणमा बहुमतका लागि नेमकिपाको ३ वा हाम्रो नेपाली पार्टीको २ मत निर्णायक छ । बागमतीमा राप्रपाको सभामुखबाहेक १२ मत छ । प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् ।

हाम्रो नेपाली पार्टीले भने सरकारलाई दिएको समर्थन कायम राखेकाले सरकारमा सहभागी हुन प्रस्ताव नै गरिएको सचेतक ढकालले बताएका छन् । ढकालले राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टी सकारात्मक देखिएको जानकारी गराए ।

 

४ चैत्र २०८०, आईतवार १२:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस