|  

जेठी श्रीमतीले जेल हालिन्, निस्किने बितिक्कै कान्छीले प्रेमी लगाएर हत्या गराइन् !

१० चैत्र २०८०, शनिबार ०७:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १०, पोखरा । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा मृत भेटिएका रामबहादुर तामाङको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसहित चार जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

चैत १ गते मादी गाउँपालिका–१ सिक्लेसमा टाउकोमा चोट पटक लागेको अवस्थामा तामाङको शव फेला परेको थियो । प्रहरीको अनुसन्धानपछि घटनामा मृतककी श्रीमती कान्छी लामा तामाङसहित चार जनाको संलग्नता देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार कान्छी लामा, धन लामा र दुई किशोरलाई पक्राउ गरिएको छ । उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसरी गरियो श्रीमतीकै योजनामा हत्या

रामबहादुर र कान्छी लामा ५-६ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए । पतिले अर्की ल्याएपछि कान्छी तामाङले बहुविवाहको मुद्दा लिएर अदालत गएकी थिइन् । अदालतको आदेशअनुसार कैद सजाय पाएका रामबहादुर कैद भुक्तान गरी निस्किएसँगै श्रीमतीले मार्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ ।

पक्राउ परेका धन लामा भने पत्नी कान्छी लामाको प्रेमी रहेको प्रहरीले जनाएको छ । पाँच वर्षअघि नै रामबहादुरसँग चिनजानमा रहेका धन लामा सँगै हाइड्रोपावरमा एक्स्काभेटर सहचालकको रूपमा काम गर्थे । उनीहरूबीच विवाद समेत थियो ।रामबहादुरकी पत्नी कान्छी लामाले ‘पन्छाउनु पर्‍यो, पैसा दिन्छु’ भनेपछि धनसहितका तीन जना रामबहादुरसँगै पोखरा आएको प्रहरीले बताएको छ ।

‘गत फागुन अन्तिम हप्तामा घरमा गई बुबाआमासँग भेट गरी रामबहादुर सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनी निस्किएको देखिन्छ । त्यसपछि उनी फागुन ३० गते राति काठमाडौंमा अन्य साथीहरूसँग सिक्लेसामा रहेको हाइड्रोपावरतर्फ लागेको पाइएको छ’, विकले भने । सिक्लेशस्थित रहेको हाइड्रोपावरमा काम गर्न जाने क्रममा चैत १ गते बाटोमा रामबहादुरलाई धन लामासहित तीन जनाले हत्या गरेका हुन् । टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेपछि उनीहरूले शवलाई सडकदेखि ३० मिटर तल भिरमा फालिदिएका थिए ।

हत्यापछि धन लामाले मृतकको श्रीमतीलाई फोन गरेर जानकारी दिएको प्रहरी अनुसन्धानबाट देखिएको छ । ‘घटनाबारे अन्य दुई जना व्यक्तिले देखेका छन्, उनीहरूको मुख टाल्न पैसा थप गरेर पठाऊ’ भनी ई–सेवा आइडी दिएपछि मृतकको श्रीमतीले ९० हजार जम्मा गरिदिइन् । उक्त रकम काठमाडौँ गएर निकाली २०–२० हजार अन्य दुई जनालाई दिएको बाँकी ५० हजार धन लामा आफूले राखेका थिए ।

१० चैत्र २०८०, शनिबार ०७:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस