|  

चरेस खरिद गर्न वीरगन्ज पुगेका धादिङ गजुरीका एकसहित तीनजना पक्राउ

१० चैत्र २०८०, शनिबार १२:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

गजुरी । पर्सा प्रहरीले वीरगन्जको नारायणी गेष्ट हाउसबाट दुई जनालाई १२ केजी २ सय ४० ग्राम चरेस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका –८ निवासी २९ वर्षीय सुरेश तामाङ र भारत विहार सिवान जिल्ला बस्ने २२ वर्षीय आरिफ राजा रहेका छन् । सिवान निवासी महमद आलमको बयानको आधारमा तामाङ र आरिफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार शुक्रबार वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोक अगाडिको सडकखण्डमा जाँचको क्रममा आलमको साथबाट स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।

आलम सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्ज तर्फ आइरहेका थिए । प्रहरी प्रवक्ता समेत रहेका थापाले प्रारम्भिक अनुसन्धानको क्रममा आलम चरेस खरिद गर्न आएको खुलेको बताए ।

‘थप अनुसन्धान गर्ने क्रममा वीरगन्ज महानगरपालिका– ८ स्थित नारायणी गेष्ट हाउसबाट तामा र आरिफलाई चरेस सहित पक्राउ गरेको हो,’ उनले भने, ‘तीन जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ ।’

१० चैत्र २०८०, शनिबार १२:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस