|  

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षविहीन

१४ चैत्र २०८०, बुधबार १३:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश नेतृत्वविहीन बनेको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चैत ३ गते उमेर हदका कारण अवकाश लिएसँगै अध्यक्ष पद रिक्त भएको हो । प्रदेश लोक सेवा आयोग ऐनमा आयोगको अध्यक्ष र सदस्य नियुक्ति भएको मितिले ६ वर्ष पदावधि हुने व्यवस्था छ भने ऐनको दफा ६ को ख मा अध्यक्ष वा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा पदबाट अवकाश हुने व्यवस्था छ ।

बागमती प्रदेश सरकारले आयोगको नेतृत्व चयनमा चासो देखाएको छैन । सरकारको भविष्य नै सुनिश्चित हुन नसकेका कारण आयोगको अध्यक्ष नियुक्ति अन्योलमा परेको हो । आन्तरिक तयारी नपुगेको भन्दै अध्यक्षको नियुक्ति रोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाका सभामुख र प्रदेश सभाको विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले अध्यक्ष र सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने ऐनमा व्यवस्था छ । ऐनको दफा ३ मा व्यवस्था गरिए बमोजिम सिफारिस समितिले आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि निर्णय गरी सरकारलाई जानकारी गराउने छ भने सरकारले प्रदेश प्रमुखसमक्ष नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । आयोगको अध्यक्षले प्रदेश प्रमुखसमक्ष र सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था ऐनमा छ ।

 

१४ चैत्र २०८०, बुधबार १३:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस