|  

बिहान झिसमिसेदेखि साँझसम्म बारीकै बास, आँखा झिमिक्क पार्यो की मकै सखाप

२० श्रावण २०८०, शनिबार १०:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अर्घाखाँची जिल्लामा जङ्गली जनावरबाट मकै बालीमा ठुलो क्षति भएको छ ।बाँदर, बँदेल, दुम्सी लगायतका जनावरबाट भर्खरै घोगा लाग्न लागेका मकैमा ठुलो क्षति पुगेको स्थानीयको गुनासो रहेको छ ।
बिहान झिसमिसेमा बारीको डिलमा बसेका सन्धिखर्क नगरपालिका–१० का कृषक घनश्याम आचार्य साँझ झमक्क रात नपरेसम्म बारीकै डिलमा बसिरहनुभएको हुन्छ  । दिनभर कताबाट मकै बारीमा बाँदर पसेर सखाप पार्ने हो भन्ने भन्दा अरू सुर्ता नहुने उहाँले बताउनुभयो ।
पहाडी जिल्लाको मुख्य खाद्यान्न बालीको रुपमा रहेको मकै बालीमा यतिबेला घोगा लाग्ने समय भएको छ । यो समय बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावर तथा हावाहुरीले पनि अत्यधिक क्षति गर्ने समय भएकाले कृषकहरू निकै चिन्तामा छन् ।
जिल्लाका ६ वटा नै स्थानीय तहमा बाँदरले मकैलगायतका बाली सखाप पार्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । सबै काम छाडेर बाँदर धपाउन खट्दा पनि मकै जोगाउन नसकिएको गुनासो किसानहरूको छ ।
सन्धिखर्क–८ किमडाँडाका कृषक उमकला बन्जाडेले बाँदरले धेरैजसो मकै बाली नष्ट गरेको बताउनुभयो । नगरपालिका, वन लगायतका कार्यालयबाट क्षतिको विवरण बुझ्न कर्मचारी आएको भन्दै उहाँले किसानलाई क्षतिपूर्ति मात्र नभई समस्याको दिगो समाधानको उपाय खोज्नुपर्ने आवश्यकता भएको बताउनुभयो ।
भुमिकास्थान–९ का ईन्दु पोख्रेलले पनि बाँदरले मकै बाली सखाप पारेको भन्दै बिहान झिसमिसेमै बारीमा पुग्ने र साँझ घाम अस्ताउने बेलासम्म बारीमै बस्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “दिनभर बारीको छेउमा बसेर बाँदर धपायो रातीमा बँदेल र दुम्सीले कतिबेला सखाप पार्ने हो पत्तो नै हुँदैन”, पोख्रेलले गुनासो गर्नुभयो ।
बालबालिका, वृद्ध तथा महिलाहरूलाई बाँदरले नटेर्ने र उल्टै आक्रमण गर्ने भएकाले समेत कृषकहरू आतङ्कित बनेका छन् । गत वर्षदेखि हालसम्म जिल्लामा करिब एक दर्जन किसानलाई बाँदरले आक्रमण गरिसकेको छ ।
अर्घाखाँचीमा मकै प्रमुख अन्नबाली हो । तर, वन्यजन्तुबाट जोगाउन मुश्किल भएपछि किसानको लगानी, मेहनत मात्रै खेर गएको छैन उनीहरुलाई अनिकालको पनि चिन्ता बढेको छ ।
साभार:नेत्र मरासिनीबाट

२० श्रावण २०८०, शनिबार १०:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस