|  

बागमती प्रदेश : यो महिनाभित्र संसदीय समितिको नेतृत्व चयन गर्न दलहरू सहमत

१४ फाल्गुन २०८०, सोमबार १३:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो ।

नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल हुनुहुन्छ । कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ ।

प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा सबै दल सकारात्मक रहे पनि ठोस निर्णय भने सर्वदलीय बैठकमा हुन सकेन । संसद् सञ्चालनका विषयमा दलबीच सहमति जुट्न नसकेपछि यही फागुन १५ गते बिहान ८ बजे पुनःसर्वदलीय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो । सो बैठकमा सत्तापक्ष र विपक्षी दलबीचको सहमति, अन्तद्वन्द्वलाई समाधान गर्ने प्रयास हुने जनाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजोको छलफलमा संसद् सञ्चालनको विषयसहित अन्य विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको बताउनुभयो । उहाँले सदन सञ्चालनका विषयमा सबै दल सकारात्मक रहे पनि अन्य विषयमा भने सहमति जुट्न नसकेको उहाँको भनाइ छ । संसद् र संसदीय समितिको नेतृत्वका विषयमा पनि दलबीचको समस्या समाधान भएको उहाँको भनाइ छ । उहाँका अनुसार सरकार र प्रतिपक्ष दलबीचको सहमतिलगायत विषयमा अन्य विकल्पमा सहमति खोज्ने प्रयास जारी छ ।

 

१४ फाल्गुन २०८०, सोमबार १३:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस