|  

केन्द्रमा सत्तासमीकरण फेरबदल भएसँगै बागमतीमा सरकार गठनका लागि अंकगणितीय हिसाब सुरु

२१ फाल्गुन २०८०, सोमबार १८:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । एकाएक संघीय सत्तासमीकरणमा फेरबदल भएसँगै बागमती प्रदेशमा पनि नयाँ सरकार गठनका लागि अंकगणितीय हिसाब सुरु भएको छ। केन्द्रमा कांग्रेससँगको सत्तासमीकरणलाई परिवर्तन गर्दै एमाले र रास्वपासँग सरकार बनाउने माओवादी केन्द्रको कदमको प्रभाव बागमतीमा पनि देखिएको हो।

बागमतीमा आजभोलि नै सरकार परिवर्तन भइहाल्ने अवस्था भने नरहेको मुख्यमन्त्री एवं माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए। उनले केन्द्रमा भएको सत्तासमीकरणको प्रभाव प्रदेशमा पनि पर्ने, तर तत्काल सरकारमा फेरबदल नहुने दाबी गरे।

बागमती प्रदेशमा नयाँ समीकरणअनुसार अंकगणितीय हिसाबले सरकार गठन गर्न समस्या हुनेसमेत जम्कट्टेलले बताए। यहाँ कांग्रेसलाई र एकीकृत समाजवादीलाई बाहिर राखेर सरकार गठन सम्भव नभएको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ।

अहिले बागमतीमा कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत माओवादीका तीन, कांग्रेसका ६ र एकीकृत समाजवादीका दुई मन्त्री छन्।

एक सय १० सांसद रहेको बागमती प्रदेशमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्। प्रदेशमा सरकार बनाउन आवश्यक ५६ सांसद कुनै पनि दलसँग नरहेकाले संयुक्त सरकारको विकल्प छैन। तर, सत्ताबाहिर रहने सम्भावना रहेको सबैभन्दा ठूलो दल कांग्रेस एक्लैसँग ३७ जना सांसद छन् भने सरकारमा नजाने भनिएको राप्रपासँग १३ सांसद छन्।

यसैगरी, अहिले बनेको केन्द्रीय समीकरणअनुसार सत्ताबाहिर पुगेको एकीकृत समाजवादीको पनि यहाँ सात सांसद छन्। मुख्यमन्त्री जम्कट्टेलकै भनाइअनुसार पछिल्लो समीकरणअनुसार वर्तमान परिस्थितिमा कांग्रेसबाहेकका दलले प्रदेशमा सजिलै सरकार बन्ने अवस्था छैन।

२१ फाल्गुन २०८०, सोमबार १८:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस