|  

बागमतीमा सरकार निर्माण तथा निरन्तरताका लागि सत्ता गठबन्धनलाई असहज देखियो

२९ फाल्गुन २०८०, मंगलवार ११:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मकवानपुर । बागमती प्रदेशमा सरकार निर्माण तथा निरन्तरताका लागि सत्ता गठबन्धनलाई सहज देखिएको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू मिल्दासमेत बहुमत पुग्ने अवस्था नभएपछि साना दल खोजेर सत्ता समीकरण मिलाउनुपर्ने बाध्यता छ ।

बागमतीमा सरकार गठनका लागि सत्ता गठबन्धनलाई अंकगणितीय रूपमा प्रस्ट बहुमत देखिएको छैन । सत्ता गठबन्धन दलको बहुमत नपुग्ने अवस्था बनेसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेल पिरलोमा परेका छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी सहितको दलको समर्थनमा सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका मुख्यमन्त्री जम्कट्टेल सरकारको निरन्तरताको विषयलाई लिएर समस्यामा परेका छन् ।

केन्द्रीय तहमा गठबन्धन परिवर्तन भएसँगै कांग्रेसले समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाइसकेको छ । बागमती प्रदेश सरकारको नेतृत्व टिकाउन मुख्यमन्त्री जम्कट्टेल दौडधुपमा छन् ।

सत्ता गठबन्धनमा भागबण्डा हुँदा सरकारको नेतृत्व माओवादी केन्द्रको भागमा नपर्न पनि सक्ने सम्भावना उच्च छ । केही दिन अघिसम्म प्रदेश सरकार टिकाउन काठमाडौँ धाइरहेका मुख्यमन्त्री जम्कट्टेल आइतबार दिउँसो हेटौँडा झरेका छन् । सरकारको नेतृत्वको विषय सकारात्मक नभइरहेको अवस्थामा उनी निरन्तर प्रयत्नमा छन् ।

२९ फाल्गुन २०८०, मंगलवार ११:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस