|  

उपत्यकामा होली सुरक्षा योजना : तीन हजार सुरक्षाकर्मी तैनाथ, ड्रोनबाट निरिक्षण !

११ चैत्र २०८०, आईतवार ०६:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र ११, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व होली लाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

होली पर्वका दिन काठमाडौँमा उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन लापसे गरी सवारी चलाउने, मादक पदार्थ सेवन मापसे गरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।” यस वर्षको होली पर्वका लागि दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

होली खेल्नेहरुको समूह तथा भीडमा सादा पोसाकका प्रहरी ठूलो सङ्ख्यामा परिचालन हुने भएकाले कोही कसैले पनि कानुन विपरीतका गतिविधि गरेको पाइए तत्काल पक्राउ गरिने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा भोलि बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने प्रउ अधिकारीले जानकारी दिए ।

११ चैत्र २०८०, आईतवार ०६:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस